
७ मंसिर, काठमाडौँ।
प्रहरीले काठमाडौंको बागबजारबाट एक जनालाई ९९ लाख नगदसहित पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौं महानगरपालिका-२८ बागबजारबाट एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सोही ठाउँका ४८ वर्षीय रुपेश श्रेष्ठ छन्।
केही व्यक्तिहरूले आपराधिक समूह बनाएर अवैध रूपमा हुण्डी कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा ब्युरोको टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले श्रेष्ठको घरमा तलासी लिएको थियो।
प्रहरीले उनले प्रयोग गरेका मोबाइल फोन चेक गर्दा विद्युतीय माध्यमबाट क्यास-एप जस्ता एपहरूको प्रयोग गरी हुण्डी, अनलाइन जुवा, क्रिप्टो करेन्सीको कारोबार गरेको फेला पारेको हो।