उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

In मृत्यु
७ मंसिर २०८०, बिहीबार १२:२३

७ मंसिर, काठमाडौँ।

मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते उर्लाबारी–७ का हेमकुमार दाहालको काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

लक्ष्मीपूजाको दिन कात्तिक २६ गते दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट आगलागी भएको थियो । आगो नियन्त्रणमा लिने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको मृत्यु भएको हो । २६ जनाको उपचार भइरहेको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर छ ।