१४ मंसिर, काठमाडौँ। सुत्केरी र शिशुको मृत्युपछि २ दिनदेखि लमजुङ अस्पताल तनावग्रस्त छ । मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उनको शिशुको मृत्यु भएको विषयले बुधबारदेखि लमजुङ अस्पताल तनावग्रस्त बनेको हो ।
अस्पतालमा मृतक परिवारका आफन्त तथा परिवारले बिहीबार साँझ प्रदर्शन, नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको सीसा फुटेको छ र २ प्रहरीलाई पनि ढुंगा लागेको छ
तनाब बढ्दै गएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मृतको परिवारका पक्षबाट भएको प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्ने क्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।
लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीका अनुसार अस्पतालतर्फ ढुंगामुढा प्रहार भएपछि चिकित्सक र उपचाररत बिरामीसमेत त्रसित बनेका छन् । अस्पताल प्रशासनले अहिलेसम्म घटनाबारे यथार्थ सार्वजनिक नगरेको मृतकको परिवार र आफन्तको भनाइ छ ।
सुत्केरी र शिशुकै मृत्यु भएपछि उनको परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै बुधबार बिहानदेखि नै अस्पतालमा प्रदर्शन गरेका हुन् । अस्पतालले राम्रोसँग गर्भवतीको शल्यक्रिया नगरेको, बेलैमा रिफर नगरेको भन्दै आफन्त तथा परिवारले अस्पताल घेरेका थिए ।