
५ मंसिर, काठमाडौँ।
मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएपछि पिडित परिवारजनले प्रहरीमा जाहेरी दिएका छन्।
ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार बजागाईंलाई कान्ति लोक पथ अन्तर्गत हेटौँडा-६ स्थित शान्ति टोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो। बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सो घटनामा ट्रक चालकले अत्यधिक मदिरा सेवा गरेका कारण दुर्घटना भएको परिवारजनले प्रहरीमा पेश गरेको जाहेरीमा उल्लेख गरिएको छ। उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।