
तनहुँ-१ र चितवन-२ मा भएको उपचुनावमा सत्ताशीन गठबन्धनका उमेदवारहरूको लज्जास्पद हार र रास्वपाका उमेदवारहरूको शानदार जीतले दिएको मोटामोटी सन्देशलाई यसरी राख्न सकिन्छ:
१. नेपाली कांग्रेसको वर्तमान शीर्ष नेतृत्व पूर्णत: विफल भएको छ । त्यसले नेपाली कांग्रेसकै बहुसंख्यक नेता कार्यकर्ताहरूको विश्वास गुमाएको छ ।
२. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यस्तो गौरवशाली इतिहास भएको पार्टीलाई एउटा हिंसाचारी सत्ताखोर जत्थाका नाइके पुष्पकमल दाहाल प्रचण्डको पिछलग्गु बनाइदिएको कुराले पार्टी कार्यकर्ताहरू मात्र होइन, पार्टीका समर्थक प्रजातन्त्रवादी जनताहरूलाई हताश र आक्रोशित बनाइदिएकोले उनीहरू देउवालाई दण्डित गर्न चाहिरहेका थिए ।
३. सभापति देउवाका कमजोरी र विफलताले उनलाई कन्टेनरमा हालिदिएको मात्र होइन, पार्टीका होनहार युवा नेताहरूको पनि मानमर्दन हुन पुगेको छ ।
४. बहुसंख्यक नेपाली जनतामा देशको वर्तमान राजनीतिक परिस्थितिले यति गहन निराशा र भ्रान्ति फैलाइदिएको छ उनीहरू डुबिरहेको त्यस्तो व्यक्तिको मनोदशामा पुगेका छन् जो रवि लामिछाने जस्तो कुहिएको ढोडको सहारामा किनारामा पुग्न पनि हिच्किचाउँदैनन् ।
५. अबका चुनावहरूमा सामाजिक सञ्चार माध्यमले रचेको मायावी भ्रमको जालो निर्णायक हुने छाँटकाँट देखिँदैछ जसले देशको शासन-प्रशासन गलत तत्वको हातमा हालिदिने उच्च जोखिम ह्वात्तै बढाइदिएको छ । देश र जनताप्रति कुनै उत्तरदायित्व नभएका व्यक्तिहरू जो विदेशी नागरिकका हैसियतले उतै बसेर यहाँको राजनीति गर्न खोजिरहेका हुन्छन् त्यस्ताहरूले बोकेको कुनै अराजक व्यक्तिका हातमा सम्पूर्ण सत्ता पर्यो भने पैदा हुनसक्ने स्थितिको भयावहता कल्पनातीत हुन्छ ।
हरि अधिकारी ।