काठमाडौं, मंसिर १३ – नेपालमा कडा खालको क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ । नेपाल क्षयरोग निवारण केन्द्रका अनुसार अहिले ७–८ हजारको हाराहारीमा कडा खालको क्षयरोगका बिरामी भेटिएका छन् ।
उनीहरुलाई क्षयरोगको सामान्य औषधिले काम नगर्ने केन्द्रका अध्यक्ष देवेन्द्र प्रधानले बताउनुभयो । कडा खाले क्षयरोग लाग्नेलाई बहुऔषधि प्रतिरोधात्मक र गहन बहुऔषधि प्रतिरोधात्मक किरामीमा वर्गिकरण गरिएको छ ।
कडा खालको रोग लाग्नेको उपचार विधि र औषधि पनि महंगो हुन्छ । तर सरकार तथा विभिन्न संघ संस्थाको सहकार्यमा यो रोग लाग्नेलाई पनि निशुल्क उपचार गरिन्छ । यस्ता बिरामीलाई दुई/तीन महिना डाक्टरको प्रत्यक्ष निगरानीमा होस्टलमा राखेर उपचार गरिने केन्द्रका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
यस्ता कडा खालका बिरामी वर्षेनी बढ्दै गएकाले सावधानी र सचेतना बढाउनु पर्नेमा उहाँको जोड छ । कडा खालका बिरामीबाट अरुमा पनि कडा खालै संक्रमण सर्ने हुँदा यस्ता बिरामीको स्याहार गर्नेले पनि सर्तकर्ता अपनाउनु पर्ने उहाँले बताउनुभयो ।
यस्तै ६४ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाईरहँदा क्षयरोग लागेका सबै बिरामीलाई उपचारमा ल्याउनु चुनौती बनेको छ । धेरैजसो क्षयरोगका बिरामी स्वास्थ्य संस्था तथा अस्पतालमा जाने गरे पनि अझै ९–१० हजार बिरामी स्वास्थ्य संस्थाको पहुँचमा पुगेका छैनन् । जसका कारण क्षय रोग निवारणमा चुनौती थपिएको छ ।
यो चुनौतीलाई सामाना गर्दै चेतना वृद्वि गर्न बुधबार विभिन्न कार्याक्रम हुँदैछ । क्षयरोग जोसुकैलाई पनि हुन्छ र डाक्टरको निगरानीमा औषधि खाए यो रोग पूरा निको हुन्छ भनेर जानकारी गराउँदै बुधबार ६४ औँ क्षयरोग नियन्त्रण दिवस मनाईंदैछ ।