
कहिले सोच्नु भएको छ मृत्युपछि त्यो मान्छेले चलाइरहेको फेसबुक के हुन्छ? अथवा कसले चलाउला?
फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई ‘मेमोरियलाइज्ड अकाउन्ट’ भनेर राखिदिन्छ। अर्थात् जो प्रयोगकर्ताको मृत्यु भएको हो, तिनको खाता मेमोरियलाइज्ड खाता हुने हो। यसो हुँदा अन्य प्रयोगकर्ताले ती व्यक्तिको मृत्यु भइसकेको भन्ने उसको प्रोफाइल हेरेर थाहा पाउन सक्छ। र, त्यो मेमोरियलाइज्ड खातालाई ट्याग अथवा प्रोफाइलमा गएर टाइमलाइनमा लेख्न पनि सकिन्छ।
कुनै पनि फेसबुक खाता मेमोरियलाइज्ड खाता भएपछि सो व्यक्तिको प्रोफाइल नाम माथि ‘रिमेम्बरिङ’ अर्थात् ‘सम्झना’ भनेर देखाउँछ।
तपाईंको मृत्युपछि तपाईंको फेसबुकलाई के गर्ने अथवा कसरी व्यवस्थित राख्ने तपाईंमा भर पर्ने कुरा हो। तपाईंले फेसबुक खाता ‘मेमोरियलाइज्ड’ बनाउन सक्नुहुन्छ अथवा डिलिट (हटाउन) सक्नुहुन्छ।
मृत्युपछि आफ्नो अकाउन्ट मेमोरियलाइज्ड बनाउन चाहनुहुन्छ भने तपाईंले अहिले नै ‘लिगेसी कन्ट्याक्ट’ अपडेट गर्नुपर्ने हुन्छ। लिगेसी कन्ट्याक्टमा तपाईंले नजिकको कोही मिल्ने साथी अथवा परिवारका सदस्यलाई राख्न सक्नुहुन्छ। जो व्यक्ति अथवा प्रयोगकर्तालाई लिगेसी कन्ट्याक्टमा राख्नुहुन्छ ती प्रयोगकर्ताले तपाईंको मृत्युपछि तपाईंको फेसबुक मोडरेट गरिदिन सक्छ।