भक्तपुर, १३ मंसिर (रासस) – भक्तपुरका चार प्रदेशसभामा युवा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
जिल्लाका दुई निर्वाचन क्षेत्रका चार प्रदेशसभा सदस्यका लागि प्रमुख दल नेपाली काँग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीले युवालाई उम्मेदवार बनाएपछि प्रदेशसभामा युवाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नं वडा पर्दछ । यो क्षेत्रमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस भक्तपुर क्षेत्र नं १ को सभापतिसमेत रहनुभएका युवानेता जीवन खत्री उम्मेदवार हुनुहन्छ भने नेमकिपाले नेपाल क्रान्तिकारी युवा संघका अध्यक्षसमेत रहनुभएका युवानेता निरज लवजुलाई उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा वाम गठबन्धनभित्र दुई उम्मेदवार रहेका छन् । उम्मेदवारी दर्ताका बेला गठबन्धनको आधिकारिक उम्मेदवारका रुपमा माओवादी केन्द्रका देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गर्नुभएको थियो भने नेकपा (एमाले)का हरिशरण लामिछानेले एमालेको उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गर्नुभएको थियो । वाम गठबन्धनभित्र यस विषयमा व्यापक विवाद भएपछि अन्ततः केन्द्रमा भएको सहमतिपछि वाम गठबन्धनको आधिकारिक उम्मेदवार लामिछाने कायम हुनुभएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रको चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले नगरप्रमुख र उपप्रमुखसहित बहुमत सिटमा जित हासिल गरेको थियो भने यस क्षेत्रमा पर्ने भक्तपुर क्षेत्र नं १० मा नेमकिपाका उम्मेदवार विजयी हुनुभएको थियो । सो निर्वाचनमा एमालेले नगरप्रमुखमा आठ हजार ५१२, नेपाली काँग्रेसले ६ हजार ८६९, नेमकिपाले चार हजार ४४२, राप्रपाले पाँच हजार १९८ र माओवादी केन्द्रले ७०६ मत प्राप्त गरेको थियो ।
त्यसैगरी भक्तपुर नगरपालिका–१ देखि ९ वडा सम्म रहेको क्षेत्र नं १ को प्रदेश (ख) मा प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका काँग्रेसका अनिल भुजु, नेमकिपाका सुरेन्द्रराज गोसाईं, वाम गठबन्धनका रोमन शिलाकारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा जित हासिल गरेर क्लिन स्विप गरेको नेमकिपाको यस क्षेत्रमा जित सुनिश्चित जस्तै देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाले २५ हजार ५६५, नेपाली काँग्रेसले ६ हजार ५३२ र नेकपा एमालेले चार हजार २१८, माओवादी केन्द्रले दुई हजार ३१३ र राप्रपाले ९१५ मत प्राप्त गरेको थियो ।
भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा सदस्य (क) मा नेपाली काँग्रेसका अंगत खड्का, नेमकिपाका सरोजराज गोसाईं, वाम गठबन्धनबाट नेकपा एमालेका शशिजंग थापाबीच नै मुख्य प्रतिस्पर्धामा रहेका छन् । यस क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिकामा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख र उपप्रमुखसहित बहुमत सिटमा जित हासिल गरेको थियो । एमालेले स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा १२ हजार १३५, नेपाली काँग्रेसले १० हजार १६५, नेमकिपाले दुई हजार २८०, राप्रपाले दुई हजार १६९, माओवादी केन्द्रले एक हजार ३८४ मत प्राप्त गरेको थियो ।
मध्यपुर थिमि नगरपालिका रहेको भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (ख) मा तुलनात्मक रुपमा अन्य क्षेत्रमा भन्दा पाका उम्मेदवारको बाहुल्यता रहेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका गणेशमान चक्रधर, वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्रमान श्रेष्ठ र नेमकिपाका प्रेमजन थापा चुनावी प्रतिस्पर्धा हुनुहन्छ ।
गत स्थानीय निर्वाचनमा मध्यपुर थिमिमा नेपाली काँग्रेसले नगरको नौमध्ये ६ वडा अध्यक्षसहित दुई तिहाइ बहुमत सिटमा विजय हासिल गरे पनि नगरप्रमुख भने गुमाउन पुगेको थियो । प्रत्यक्षरुपमा नेकपा एमाले र नेमकिपाले तालमेल गरे पनि अदृश्य रुपमा काँग्रेसविरुद्ध सबै दल एकजुट भएको सो निर्वाचनमा मध्यपुर थिमिको नगरप्रमुखमा एमालेले १३ हजार ९६० मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १० हजार ८४६, माओवादी केन्द्रले एक हजार २३२ र राप्रपाले ४२८ मत प्राप्त गरेको थियो । त्यसैगरी एमालेसँग तालमेल गरेको नेमकिपाले उपप्रमुखमा आठ हजार १५६ मत प्राप्त गरेको थियो ।