काँग्रेस नेतृ सुजाता कोइरालाले सबैलाई ‘सरप्राइज’ दिँदै प्रकाशमान श्रेष्ठ क्याम्पमा उभिएकी छिन् । उनले प्रकाशमानको प्यानलबाट उपसभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएकी हुन् । शनिबार बिहान प्रकाशमानसँगै भेटिएकी सुजाताले संक्षिप्त कुराकानीमा १४ औँ महाधिवेशनबाट नयाँ अनुहार ल्याउनका लागि उनलाई आफूले समर्थन गरेको बताइन् । उनले भनिन्, ‘महाधिवेशनबाट नयाँ अनुहार आउनुपर्छ । नयाँ अनुहार आएपछि पार्टीमा नयाँ ऊर्जा आउँछ ।’
प्रकाशमानले जनजातिको प्रतिनिधित्व गर्ने र आफूले महिलाको प्रतिनिधित्व गर्ने भएकाले आफ्नो टिममा पूरा नेपाल समेटिएको जिकिर गरिन् । ‘उहाँ जनजाति, त्यसमाथि महिलालाई पनि सम्मान गर्ने नेता हुनुहुन्छ । उहाँको टिममा मैले पूरा नेपाल समेटिएको देखेँ त्यही भएर समर्थन जनाए । हामीले जित्यौँ भने आगामी चुनावमा जनजाति, महिला, खस आर्य सबैको भोट तान्न सक्छौँ ।’