
कर्णाली प्रदेशमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । तीनै जनाले पासो लगाएर आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार डोल्पामा एक जना र सुर्खेतमा दुई जनाले आत्महत्या गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ वर्षकी अस्मिता शाहीले सलको पासो लगाई आत्महत्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका—४ मा रहेको आफ्नै मामा केव रोकायाको घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी मामाको घरमै बस्दै आएको प्रहरीको भनाइ छ ।
अस्मिताले आत्महत्या गरेको ११ घण्टापछि सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्महत्याको बाटो रोजेकी छन् । प्रवक्ता श्रेष्ठका अनुसार सरस्वतीले गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलकै पासो लगायर झुण्डिएकी थिइन् । सरस्वती विवाहित महिला हुन् ।
यस्तै बुधबार बिहान आठ बजे सुर्खेतकै गुर्भाकोट नगरपालिका–७ को नाङ्गी भन्ने स्थानका ६९ वर्षका वृद्ध दिलबहादुर खत्रीले पनि झुण्डिएर आत्महत्या गरेका छन् । उनले आफ्नै घर नजिकैको खन्युको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् । उनी झुण्डिएको अवस्थामा स्थानीयले बिहान १० बजेपछि मात्र देखेका थिए । प्रहरीका अनुसार यी तीनवटै घटनाको अहिले अनुसन्धान भइरहेको छ । पछिल्लो समय कर्णालीमा दिन–प्रतिदिन झुण्डिर आत्महत्या गर्नेहरुको ग्राफ बढ्दै गएको देखिन्छ ।