काठमाडौं। आफ्नो कार्यालयमा पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वाटरमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको छ । अहिले स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीसम्बन्धि कसूरमा किटानी जाहेरी दर्ता भएको हो।
खिउजुले गत मंसिर ३० गते युवतीलाई बलात्कार गरेको उजुरीमा दावी गरिएको छ । त्यतिबेला खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत थिए । पीडित युवती र उनका आफन्त आएर बिहीबार महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिएको र दर्ता पनि गरेको परिसरकी प्रवक्ता दुर्गा सिंहले बताइन् । सिंहले जाहेरी दर्तापछि आवश्यक कारबाही अगाडि बढाउने बताएकी छन् ।