कैलाली, मंसिर १२ – ‘हाम्रो समाजमा महिलाले जहाँ विवाह गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरुले सुदूरपश्चिमभन्दा बाहिरबाट विवाह गर्नु भएको छ, घरका जहान परिवारलाई टुरिस्ट नभन्नु होला । म सुदूरपश्चिमको नभएर कहाँको हुँ ? तपाईं सोच्नु होला, लेखपढ गरेकी छ, जान्ने बुझ्ने छ । यसलाई त आनन्द होला । तर महिनावारी हुँदा भोग्ने पीडा सबै महिलाको उस्तै हो । बच्चा पाउँदा हुने अप्ठ्यारो सबै महिलालाई उस्तै हो । महिला दिदीबहिनीका पीडा मैले बुझ्छु । उनीहरुका लागि म काम गर्छु ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार डा. आरजू राणा देउवाले यहाँका विभिन्न चुनावी सभाहरुमा माथिका यि भनाई राख्दा महिलाहरुले ताली बजाउने गरेका छन् ।
डाक्टर राणाले चुनावी अभियानमा महिलाका पक्षमा बोलिएका यस्तै भनाईले कैलाली क्षेत्र नं. ५ का महिलाहरुको चित्त बुझाएको छ । टुरिस्ट उम्मेदवारको आरोप खेपिरहनुभएकी राणाले हरेक चुनावी सभामा सुदूरपश्चिमका कला, सँस्कृति र महिलाहरुले मान्ने चाडपर्वको बारेमा चर्चा गर्दै आउनुभएको छ ।
कैलाली जिल्लामा दुई गठबन्धनबाट सबैभन्दा बढी महिला उम्मेदवार बनाइएको छ । देशभरि महिला उम्मेदवारको सङ्ख्या १८ रहेकोमा ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा कांग्रेसले २ जना र एमालले एकजना महिलालाई प्रतिनिधिसभा उम्मेदवारको रुपमा उठाएको छ । यस्तै गीता राणा क्षेत्री पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । महिलाहरु नै उम्मेदवार भएपछि यस क्षेत्रका महिलामा पनि उत्साह छाएको छ । महिला उम्मेदवारहरु आरजु राणासँगै, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपाने र वाम गठबन्धनकी उम्मेदवार मदनकुमारी शाहले चुनावी सभामा महिलाका बारेमा बोल्ने बित्तिकै ताली बज्ने गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ विशालनगरमा कांग्रेसकी उम्मेदवार आरजु राणाको चुनावी सभामा सहभागी एक सय वर्षिया मनुदेवी ओझाले महिला उम्मेदवार पाएकोमा खुशीयाली व्यक्त गर्दै आरजुलाई अंकमाल गर्नुभयो । ओझाले सुदूरपश्चिमका महिला रुढीवादी सोचका कारण निकै पछाडि परेकाले महिला निर्वाचित भए यस क्षेत्रका महिलाले पनि अगाडि बढ्न मौका पाउने बताउने गर्नुभएको छ ।
यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवा शाह र न्यौपानेको प्रचारमा पनि पुरुष भन्दा पनि महिला सङ्ख्या उल्लेख्य देखिन्छ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा दुवै गठबन्धनबाट महिला नै उम्मेदवार भएकाले कैलाली जिल्लाले प्रतिनिधिसभामा एक महिला पाउने पक्का जस्तै छ । तर आरजु राणा र स्वतन्त्र उम्मेदवार गीता राणा क्षेत्रीको भने मुख्य प्रतिस्पर्धा पुरुष उम्मेदवासँगै रहेको छ ।