
दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने जीमखानाका मालिकलाई जयपुर पुलिसले हिरासतमा लिएको छ । उनले सोधपुछको क्रममा निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । अनुसन्धानमा सार्वजनिक भएअनुसार यी दुई डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए र त्यसै दिन जिमखानाका मालिकले ती युवतीको हत्या गरेका थिए । घटना हुनु एक महिना अघि यी दुईको भेट फेसबुकमार्फत् भएको थियो । उनले युवतीको फोनबाट ट्याक्सी बुक गरेको र पक्राउ पर्ने डरले डिसेम्बर ७ तारिखमा ड्राइभरको पनि हत्या गरे । जुन कपडाले आरोपीले रगत पुछेका थिए पुलिसले उक्त कपडा ड्राइभर देवेन्द्र सिंहको कारबाट बरामद गरेको छ । भारतीय मिडियाका अनुसार ३५ वर्षे जिमखानाका मालिकको नाम हेमन्त लाम्बा हो । सूरतबाट १० डिसेम्बरमा पक्राउ गरेपछि उनलाई हरियाणा पुलिसलाई सुम्पिइएको थियो । बिहिबार जयपुर पुलिसले उनलाई हिरासतमा लिएको छ । घटनाको अनुसन्धान गरिरहेका एक पुलिस अधिकारीले टाइम्स अफ इन्डियालाई भने, ‘सोधपुछको क्रममा युवतीको हत्या भएको दिन आफू अत्यधिक नशामा भएको लाम्बाले बताए ।’