
सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपीले जानकारी दिए ।बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।