
स्थानीय तहका शिक्षकको हकहितका लागि कामगर्ने उद्देश्यले तोकिएका शिक्षा संयोजनले आफ्नै सहकर्मी शिक्षकहरुको पारिश्रमिक बापतको लाखौं रकम रुपैया अनियमितता आरोप लागेको छ ।
रौतहटको फतुआ बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनिलाल प्रसाद यादवले आफ्नै सहकर्मी शिक्षकको पारिश्रमिक रकम गायब पारेको आरोप लागेको हो ।
गत अषाढ मसान्तमा शिक्षकको पारिश्रमिक बापत नगरपालिकाबाट निकासा गराएको लाखौंरुपैया संयोजक बुनिलालले हिनामिना गरेको शिक्षकहरुको आरोप छ ।
गत आर्थिक बर्षमा नगरक्षेत्र अन्तर्गतका २९ वटा बिद्यालयमा पटक पटक गरी पाँचवटा परीक्षा सञ्चालन भएको थियो ।
परीक्षामा खटिने र उत्तर पुस्तिका जाँचगर्ने कार्यमा खट्ने शिक्षकको पारिश्रमिक विजयपुर नगरपालिकाले गत अषाढ मसान्तमा कुल चार लाख ३९ हजार रुपैयाँ निकासा गरेको थियो । तर सो रकम उनले सम्बन्धितलाई भुक्तानी नगरी हिनामिना गरेका हुन् ।
केहीदिन अघि शिक्षकहरुको तलवको माग गर्दै फतुआ जिजयपुर नगरपालिका अगाडि धर्ना बस्दै मेयर गोपाल प्रसाद यादवलाई गुनासो गरेका थिए ।
सोहीसमय मेयर यादवले शिक्षकको परीक्षाको पारिश्रमिक बापतको रकम अषाढ मसान्तमै निकासा दिएको बताएपछि रकम हिनामिना भएको खुलासा भएको पीडित मध्येका एक शिक्षक अशोक जयसवालले बताए ।
शिक्षा संयोजक बुनिलाललाई रकम फिर्ता गर्न सबै शिक्षकले दवाब दिएपछि केहीदिन भित्रै फिर्ता गर्ने लिखित सहमति भएको शिक्षक जयसवालले बताए ।
आरोपी शिक्षक बुनिलाल यादवले गल्ती स्वीकार गर्दै पुस ४ गते शुक्रवार शिक्षकहरुलाई बितरण गरिने बताएका छन् ।