779 views 1 sec 0 comments

बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती : दाहाल

In देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १३:१०

मंसिर १०, २०७४-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन् ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । विसं २०६२ जेठ २३ गते घटना भएको हो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन् । यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन ।

चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका थिए । दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ ।

दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुँदै बाँदरझुला पुगेका हुन् । समय मिलेमा दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ ।