670 views 0 secs 0 comments

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने सम्झौता…

In देश, विश्व
१४ आश्विन २०७६, मंगलवार १२:०७

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो ।
पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्ने छन् ।
नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान प्रतिस्पर्धाको क्षमतामा र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौंमा सात उडान प्रतिस्पर्धाको क्षमतामा मात्र उडान गर्ने र बाँकी २८ उडान प्रतिस्पर्धाको क्षमता पोखरा, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्नु पर्ने छ ।
समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलको तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् । सम्झौता तथा समझदारीअनुसार दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान संख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने छन् ।