505 views 0 secs 0 comments

५५ वर्षीया महिला कार्कीको हत्यामा संलग्न पाँच जनालाई पक्राउ…

In समाज
१३ आश्विन २०७६, सोमबार १६:१५

कपनमा ५५ वर्षीया महिला कमला कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको हो।
असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलको भित्रपट्टी कार्कीको हत्या भएको थियो। आफ्नै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।
परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनलाई नशालु पदार्थ सेवन गराएर सुनको गहना र रकम लुटेको पाइएको छ। ‘बियरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘सुन र पैसा लुट्नकै लागि हत्या योजना बनाएको देखिन्छ।’
कमला त्यहाँ किराना पसलसँगै रक्सी पसल सञ्चालन गर्थिन्। हत्या गर्ने व्यक्ति र उनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानमा खुलेको छ। ‘सँगै बसेर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको खुलेको छ,’ बोगटीले भने।
कमलाको साथमा रहेका चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ। नशालू पदार्थ सेवन गरेपछि कार्की लठ्ठिएकी थिइन्। त्यहीबेला हातबाट औंठी झिक्न खोज्दा उनले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।