हुम्ला : हुम्लाका सात मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन। ५२ मतदान केन्द्र रहेको हुम्लाका ७ मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए।
अदानचुली गाउँपालिका १ स्थित जनकल्याण आधारभूत विद्यालय केन्द्र र नाम्खा गाउँपालिका ४ स्थिति हिमालय आधारभूत विद्यालय केन्द्रमा मतदान सुरु हुन सकेको छैन। जनकल्याण आधारभूत विद्यालय केन्द्रमा राजनीतिक दलका प्रतिनिधि नआउँदा मतदान सुरू नभएको निर्वाचन अधिकृत कुमानसिंह धामीले जानकारी दिए। यहाँ ६०७ जना मतदाता छन्। दलका प्रतिनिधिहरू नआए पनि मतदाता भने मतदानका लागि लामबद्ध भइसकेका छन्।
२०७० सालको संविधानसभा निर्वाचनमा पनि यहाँ दिउसो २ बजेमात्र मतदान सुरु भएको थियो। चुनावको विरोधमा रहेको मोहन वैद्य नेतृत्वको माओवादीको अवरोधका कारण ढिलो चुनाव सुरु भएको थियो।
यता हिमालय आधारभूत विद्यालयमा पनि मतदान सुरु नभएको प्रहरी नायव निरीक्षक कमलप्रसाद नेपालले बताए। उच्च हिमाली क्षेत्रमा पर्ने यो ठाउँमा यहाँ १०६ जना मतदाता छन्। यहाँका अधिकांश मानिस बेसी झर्छन्। उनीहरू मतदानका लागि ३/४ घण्टा हिँडेर आउने गर्छन। यहाँको तापक्रम माइनसमा छ।