
शनिबार बिहान धादिङबेंसी-सल्यानटार सडकखण्डको ज्यामिरेमा भएको ट्याक्टर दुर्घटनामा ९ जना सडक मजदुर सख्त घाइते भएका छन् । दुर्घटनामा पर्ने घाइतेहरु सबै सडकखण्ड कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन् ।
निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट ना६च २७८० नम्बरको निर्माण कम्पनीकै ट्याक्टरमा १४ जना चढेका थिए। बर्दिया राजापुर २ निवासी सन्जयकुमार चौधरीले तीव्र गतिमा कुदाएको थिए।
‘दुर्घटनामा घाइते भएका ९ जना मध्य सख्त घाइते भएका कृष्णबहादुर रावत र जयबहादुर चनारालाई उपचारका लागि भरतपुर पठाउदैंछौं,’ जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक रुपख खड्काले बताए। घाइतेलाई काठमाडौं लैजान लागिएको भएपनि नागढुंगा-नौबिसेको जामले गर्दा भरतपुर पठाइएको हो ।
अन्य घाइतेहरुमा तेजबहादुर रावत, पूर्णवहादुर डाँगी, दिर्घबहादुर रावत, कर्णबहादुर शाही, कर्णबहादुर चनारा, चन्द्रबहादुर रावत, विर्खबहादुर रावत रहेका छन्। उनीहरुको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ।
‘मोटरसाइकलसँग प्रतिस्पर्धा गर्दै गुडेको थियो, ज्यामिरे कान्लामा पुरै घोप्टियो,’ दुर्घटनामा सामान्य घाइते हरिबहादुर शाहीले भने। उनीहरु गत एक महिनादेखि सडकमा कार्यरत थिए। शाहीका अनुसार कालोपत्रे सकिएर दसैं मनाउन शनिबार जिल्ला हिँडने तरखरमा थिए। दुर्घटना गराउने ट्याक्टर चालक सन्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।