580 views 0 secs 0 comments

यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने…

In देश
९ आश्विन २०७६, बिहीबार १२:४०

यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् ।
यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ ।
दशैंको सुरुवाती दिनसम्मै मनसुन रहने पक्का भएकाले पानी पर्ने खतरा मौसमविदहरुले औंल्याएका छन् । ‘मनसुन बाहिरिन अझै एक साता बढी लाग्ने भएकाले दशैंको सुरुवाती दिनमा वर्षा हुने सम्भावना देखिन्छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘दशैंका अन्य दिनहरूमा पानी पर्छ कि पर्दैन भनेर अनुमान गर्न भने अबको एक साता कुर्नुपर्छ ।’
मौसम पूर्वानुमान महाशाखासँग लामो समयको मौसमी प्रक्षेपण गर्ने प्रविधि छैन । उसँगको प्रविधिले एक साताको मात्रै मौसमी आकलन गर्न सक्छ ।
दशैंको सुरुवाती दिनपछि मनसुन रहने या बाहिरिने भन्नेबारे अहिले नै यकिन गर्न नसकिने भएकाले त्यसपछिका दिनको मौसम कस्तो हुन्छ भन्नेबारे भने मौसमविद्ले केही बताएका छैनन् । दशैंको विशेषता घमाइलो मौसम भए पनि यस वर्ष त्यस्तो रौनकता नहुने अनुमान माैसमविदको छ ।
‘दशैंमा मौसम घमाइलो हुने गर्छ । तर, यस वर्ष मनसुन लम्बिएकाले त्यस्तो नहुने खतरा बढेको छ’, मौसमविद् अर्यालले भने ।