
बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन्।
तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका दुई सय ५३ विस्थापित भएको खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया विकले जानकारी दिइन्। उपाध्यक्ष विकका अनुसार विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ।
घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नम्बर ७ र ८ का सर्वसाधारण सडकमा बस्न बाध्य भएको स्थानीय मायाराम पासीले बताइन्। गाउँपालिकाले वितरण गरेको पालको साहरामा सडक किनारमा बस्दै आएको पासीले जानकारी दिइन्।
वर्षाले खजुरा गाउँपालिका– ७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पनि डुबानमा परेको छ। डुबानका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक श्रवणकुमार खड्काले बताए। मानखोलामा आवश्यक तटबन्ध नहुँदा वर्षेनी डुबानको समस्या झेल्नुपरेको उनले बताए।