बैतडी,मंसिर १३ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएको बैतडीका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । पहिलो चरणको चुनावको मतपरिणाम पनि दोस्रो चरणको चुनाव पछि आउने भएकोले मतदातालाई कुर्न गाह्रो भएको हो ।
मंसिर १० गते शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भए पनि लामो समयसम्म कुर्नुपर्दा कतै अप्रिय घटना घट्ने त होइन भन्ने बैतडीका उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता तथा मतदातामा शंका उत्पन्न हुन थालेको छ । ‘कि त एकै चरणमा चुनाव सम्पन्न गर्नुपर्थ्यो कि त पहिलो चरणमा सम्पन्न चुनावको मतपरिणाम सार्वजनिक गर्नुपर्थ्यो’ दशरथचन्द नगरपालिकाका हरिस लेखकले भन्नुभयो ।
चुनावमा भोट हालिसकेका मतदातालाई आफूले दिएको मतको परिणाम के होला भन्ने मनमा कौतुहलता जागेको बैतडीका अम्बादत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार चाडो मतपरिणाम सार्वजानिक हुँदा नागरिकमा जुन उत्साह हुन्थ्यो त्यो अब छैन । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि जिल्ला बाहिर र देश बाहिर रहेका मतदाता पनि आफ्नो कामलाई थाती राख्दै जिल्ला आएका थिए । मतपरिणाम ढिला सार्वजानिक हुँदा उनीहरुमा निराशा छाएको स्थानीय बासिन्दाले बताएका छन् ।
बैतडी पाटनका गणेश बिक भारतबाट चुनावकै लागि गाउँ आउनुभयो तर मतगणना नहुँदा उहाँ पनि निराश हुनुहुन्छ । उहाँलाई पनि विजय ¥यालीमा सहभागी हुने रहर छ तर कमाउन कै लागि भारत जानुपर्ने बाध्यता पनि । ‘भोट हाल्न बिदा मागेर आएँ अब चुनावमा कसले बाजी मार्छ त्यो हेर्न नपाउँदै भारत जानुपर्ने भयो’ उहाँले भन्नुभयो । उहाँका अनुसार चुनाव सकिएपछि समयमा नै मतपरिणाम सार्वजानिक भएको भए राम्रो हुन्थ्यो ।
जिल्ला बाहिर रहेका युवाहरु पनि चुनाव कै लागि गाउँ आएका थिए तर मत परिणम सार्वजानिक नहुँदै उनीहरु पनि आ–आफ्नो गन्तव्य तिर फर्किसकेका छन् । बैतडीका राजनीतिकदलका नेता कार्यकर्ता, मतदाता सबै अहिले मतपरिाणामको पर्खाइमा छन्