
पछिल्ला दिनहरुमा स्थानीय सरकारमाथि आक्रमणको शिलशीला रोकिएको छैन । देशका विभिन्न भागहरुमा आक्रमणका घटनाहरु भइरहेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ३ मोहतीमा रहेको वडा कार्यालयमा हिजो राति आगजनि भएको छ । राति करिब साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं तीनका अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिनुभयो ।
स्थानिय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको अवस्थामा भेटिएको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । गाउँमा मेला लागेकाले सबै घरका सदस्यहरु मेला हेर्न गएको मौका छोपी आगजनि गरेको बताइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।