
बैतडी जिल्लास्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ। भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ।
उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए। कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुननसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए। रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको छ।