
यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन्।
वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएका हुन्। प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीय युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी अपाङ्गता रहेकी दलित थरकी ती युवतीलाई वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुव्र्यवहार गर्दै आएको भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।
म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, तिमीलाई आर्थिक सहयोग गर्छु, कसैलाई यी कुरा नगर्नुलगायतका करीब १८ मिनेटको फोन कल रेकर्ड पीडित युवतीले सुरक्षित राखेकी छिन्। वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको पीडित युवतीले बताइन्।
युवतीले वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएपछि वडाध्यक्ष भण्डारी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए।