845 views 0 secs 0 comments

निर्वाचनमा ६४ हजार २० सेना परिचालन, ३३ स्थानमा सुरक्षित बम डिस्पोज

In देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १०:५८

 

निर्वाचनमा नेपाली सेनाले ६४ हजार २० जना सेना खटाएको छ।

सेनाले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको जंगी जड्डाले प्रष्ट पारेको छ।

खट्टिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको सेनाले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरु मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नुको साथै बाँकी रहेका केही जिल्लाहरुमा मतपत्र ढुवानी कार्य गरिरहेको जनाएको छ।

त्यस्तै, नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भए अनुसार हालसम्म देशका विभिन्न ५३ वटा कारागारहरु र २३ वटा विमानस्थलहरुको सुरक्षार्थ फौज तैनाथ भईसकेको छ ।

त्यस्तै देशका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरु फेला परेका घटनाहरुमा तदारुकताकासाथ सैनिकहरु खट्टिई त्यस्ता शंकास्पद वस्तुहरुलाई सुरक्षितसाथ निस्क्रिय गर्ने कार्य समेत गरिरहेको छ ।

सोही क्रममा मिति २०७४ कार्तिक २२ गतेदेखि आजसम्म ३३ वटा बम डिस्पोज गरेको सेनाले जनाएको छ। पाँचथर जिल्लाको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लम्जुङ्ग जिल्लाको वेसिशहर, पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोलामा बम भेटिएका थिए।

त्यस्तै अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका शंकास्पद वस्तु, बम सुरक्षित साथ डिस्पोज गरेको छ ।