
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ ।ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे ।
बम ढकाल, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन । प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ ।
विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । सचेतक ढकाल भने घरमा थिएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् ।
बम विस्फोट कसले र किन गरायो भन्ने खुलेको छैन ।