
‘लाइन’ खुलाउन भन्दै प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति करिब ८ बजेको समयमा प्रहरी कार्यालय पुगेका वीरगन्ज महानगरपालिका-२२ मनियारी निवासी उपेन्द्र यादवले प्रहरीलाई चल्लाको कारोबारमा अवरोध नपुर्याइदिन भन्दै १० हजार रुपैयाँ दिएका थिए ।
कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले यादवलाई नगद रुपैयाँ सहित नियन्त्रणमा लिएको जनाए । यादवलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।
अवैध कारोबार निर्वाध रुपले गर्नका लागि कारोबारीले प्रहरीलाई निश्चित रकम बुझाएपछि प्रहरीको मौनतालाई ‘लाइन’ खुलेको मानिन्छ । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले प्रहरीलाई पैसाले प्रभाव पार्न खोज्ने चल्ला कारोबारी उपेन्द्र यादवलाई नियन्त्रणमा लिएको बताए ।