
दुर्घटनामा आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सफल शल्यक्रिया भएको छ ।
पेटमा बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको सफल शल्यक्रिया भएको हो ।
घरको छतमा खेलिरहेका आलम चिप्लिएर बाँसघारीमा खसेका थिए । खस्दा बाँसको टुप्पोमा परेका आलमलाई परिवारले तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुरयाएका थिए ।
त्यहाँका चिकित्सक डा राजीव मिश्रा, डा पारसमणि साह, डा शशाङ्क यादव, डा गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताए । अहिले बालको अवस्था सामान्यउन्मुख छ ।