
नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । ‘फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो’, प्रत्यक्षदर्शी चन्दले भने ।चार दमकलसहित प्रहरीले करीब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।आगलागीबाट करीब रु सातदेखि १० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, तर क्षतिको यकिन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।‘फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ । ‘पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो’, प्रहरी उपरीक्षक वलीले भने, ‘पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौं ।’