
काठमाडौँ उपत्यकाको फोहाेर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ। उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो।
शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ। पूरै संरचना दुई चरणमा गरेर सम्पन्न गर्ने योजना रहेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मनोज नकर्मीले बताए। पहिलो चरणको रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्कामा भएर काम शुरु भएको छ।
पहिलो चरणको काम भइरहँदा नै दास्रो चरणको काम अघि बढाउने योजना रहेको प्रवक्ता महतोले बताए। अहिले डिजाइन सकिएकाले तीन/चार दिनभित्रै दोस्रो चरणको ठेक्का आह्वान हुने उनले बताए। दोस्रो चरणमा फोहरको सङ्कलन लगायतका पक्की संरचना निर्माणका काम हुनेछन्। अहिले दुई चरणमा काम सम्पन्न भए पनि दोस्रो चरणको काम सकिएपछि पनि तेस्रो चरणमा थप काम गर्न सकिने विषयमा छलफल भइरहेको प्रवक्ता महतोले बताए। तेस्रो चरणमा वर्गीकरणको काम हुने बताइएको छ।
काठमाडौँमा उपत्यकामा विसर्जन गर्नुपर्ने फोहरको परिमाण बढिरहँदा झण्डै एक दशक पहिले नै सिसडोलको विकल्पका रुपमा बञ्चरेडाँडालाई हेरिएको थियो। सो स्थानमा ल्याडफिल साइट निर्माणमा चासो देखाएका दुई संस्था पछि सरेसँगै कसले निर्माण गर्ने भन्ने अन्योल रहेको थियो।