
बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
गएराति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । निरुता र निस्मिता आमा-छोरी हुन् ।पहिरोले बगाउँदा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन् । अन्य चार जना घाइतेको अवस्था सामान्य छ ।
घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ ।
वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकारी दिए । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको जोखिममा छन् ।