
बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । राजमार्गको लामो खण्ड, साँघुरो सडक र अत्याधिक सवारी चापका कारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७५/७६)मा जिल्लामा २९५ सवारीसाधन दुर्घटना हुँदा १४६ को मृत्यु भएको छ । मृतक मध्ये ४१ जना पैदल यात्रु रहेका छन् । दुर्घटनामा २३० जना गम्भीर घाइते भएका छन् भने, ३२८ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।