
सत्तारुढ दल नेकपाले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर जेठ तीन गते शुक्रबार पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताउँदै आएका छन्।
जिल्ला तहको एकीकरण प्रक्रिया टुंग्याएको नेकपाले जेठ तीन गते बाँकी जनवर्गीय र भातृ संगठनको एकता घोषणा गरिने बताउँदै आएपनि जेठ तीन भित्रै एकता प्रक्रियाले पूर्णता पाउने विषयमा आशंका उब्जिएको छ।
बुधबार राजधानीमा युवा संघ नेपालको २९ औं स्थापना दिसवको अवसरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दााहाल प्रचण्डले एकताको घोषणा हुन्छ भनेर हल्ला भएको दिन एकता नहुने र हल्ला नभएको दिन एकता हुने बताएका थिए।
अहिले मदन भण्डारीको स्मृति दिवसको अवसरमा पार्टी एकता हुने प्रचार गरिँदै आएको छ तर प्रचण्डले उक्त दिन एकता प्रक्रियाले पूर्णता नपाउने संकेत गरेका छन्। पार्टी एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकता प्रक्रिया टुंगोमा नपुगेको भन्दै कार्यकर्ताले चासो लिइरहेका बेला प्रचण्डले जिल्ला कमिटीबाट ढोका उघारिसकिएकाले एकीकरण टुंगिने विषयमा कार्यकर्तालाई आश्वस्त पार्ने प्रयास गरेका थिए।
‘अहिले पनि हाम्रो कोशिश छ, ३ गते सबै घोषणा गरिदिउँ, भएन भने टेन्सन नलिनुहोला ४, ५ वा ६ गते होला केही फरक पर्दैन हामी टुंग्याउँछौं।, यो कुरामा तपाईंहरु विश्वस्त हुनुहोस्। यदि तपाइँहरुले जोड गर्नुभयो भने युवाको चाहिँ आगामी जेठ ३ गते गते सक्न पनि सकिन्छ,’ दाहालले बुधबार युवा संघ नेपालको कार्यक्रमलाई सम्वोधन गर्दै भनेका थिए।
यसैबीच नेकपाले जेठ ३ गते पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्य विभाजनको घोषणा गर्ने तयारी नेकपाले गरेको छ। गत ९ गते जिल्ला नेतृत्व घोषणा गरेको नेकपाले प्रदेश तहको नेतृत्व पनि टुंगो लगाइसकेको छ।
नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्य्विभाजनको काम टुंगो लागिसकेको छ। ‘पोलिटब्युरोका सम्बन्धमा धेरै कुराहरू टुंगो लागिसकेको छ, केही सदस्यहरूको नाममा विवाद देखिएको छ,’ नेकपाका एक नेताले भने, ‘जेठ ३ गते घोषणा गर्ने तयारी छ।’
नेकपाको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एकतिहाइ नबढ्ने गरी पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ । यसै आधारमा १४७ जनाको पोलिटब्युरो गठन हुनेछ । यसअघि, नै अध्यक्षद्वयबीच पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य पोलिटब्युरोमा राख्ने सहमति जुटिसकेको थियो ।
पोलिटब्युरो गठनमा पूर्वएमालेले वरिष्ठता, दोहोर्याएर केन्द्रीय सदस्य भएको लगायतलाई आधार बनाइएको छ। नेकपा स्रोतका अनुसार पदेन सदस्य अमृत बोहरा र आमन्त्रित सदस्यहरू सोमनाथ प्यासी, पुष्प कँडेल र केशव बडाललाई स्वतः पोलिटब्युरोमा ल्याउने तयारी छ। घनेन्द्र बस्नेत, देवराज घिमिरे, नरेश खरेल, केदार न्यौपाने पनि पहिलोपटक पोलिटब्युरोमा समेट्ने तयारी छ। कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, धर्मनाथप्रसाद साह पनि पोलिटब्युरोमा समेटिनेछन् ।
सचिवालय सदस्यहरू अध्यक्ष ओली, नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, वेदुराम भुसाल र विष्णु रिमाल पनि स्वतः पोलिटब्युरो सदस्य हुनेछन्।
पोलिटब्युरो गठनका सम्बन्धमा पूर्वमाओवादीभित्र नाम छनोट गर्न सकस देखिएको छ। पूर्वमाओवादीको भागमा परेका ६५ जनामा ७५ जनाको नाम सिफारिस भएको छ। जसमा पार्टी एकतापछि स्थायी कमिटी र सचिवालयमा रहेका १९ जना स्वतः पोलिटब्युरोका लागि योग्य हुनेछन्। बाँकी सदस्यहरूको टुंगो लगाउन सकस देखिएको हो। स्रोतका अनुसार बाँकी रहेका ४६ जनाको टुंगो तत्कालीन नेकपा माओवादी सचिवालयमा रहेका ९९ जनाबाट लाग्नेछ।
पूर्वमाओवादीबाट सचिवालयमा रहेका पुष्पकमल दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू वर्षमान पुन, शक्तिबहादुर बस्नेत, अमिक शेरचन, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, टोपबहादुर रायमाझी, गणेश साह, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, हरिबोलप्रसाद गजुरेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट स्वतः पोलिटब्युरो सदस्य हुनेछन्। गत वर्ष जेठ ३ गते पार्टी एकता घोषणा भएको थियो। सबै तहको एकता तीन महिनाभित्र पूरा गर्ने भनिएकोमा एक वर्षमा पनि सकिएको छैन ।