
वैशाख ९ गते सम्पूर्ण एकता प्रक्रिया टुंग्याउने बताइएको नेकपाको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ। गत बिहीवार राति चन्द्रागिरि रिसोर्टमा बसेको नेताहरुको आवाशीय बैठकले पार्टी स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गतेभित्र सवै तहको एकताको टुंगो लगाउने गरी गृहकार्यलाई तीव्रता दिइएको छ।
नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टी एकताको काममा बढी सक्रिय रहेका छन्। स्रोतक अनुसार एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधव नेपालसँग अध्यक्षद्वयले एकताका विषयमा छलफल गरिसकेका छन्।
यसअघि चन्द्रागिरि बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वैशाख ९ भित्रै बाँकी रहेका एकताको काम टुंग्याउने सहमति भएको थियो।
जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया लम्बिदा कार्यकर्ता पंक्तिमा निरासा छाउने अवस्था आएपछि अध्यक्षद्वयले एकताको कामलाई तीब्रता दिएका हुन्।
कस्तो सम्मको अवस्था छ भने दुई दलबीच एकता घोषणा भएकै दिन गठित ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यहरुले समेत जिम्मेवारी पाउन सकेका छैनन्
यसअघि नै अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग परामर्श गरिसकेका छन्। ओली र प्रचण्डले जिल्ला र जनसंगठनको नेतृत्वको बिषयमा अन्तिम गृहकार्य गरिरहेको स्रोतले जनाएको छ।
गत जेठ ३ मा केन्द्रमा एकता भएको नेकपाको जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनको एकता र नेतृत्व टुंग्याउने मूल काम बाँकी छ । त्यस्तै पोलिटब्युरो गठन र केन्द्रीय समितिका सदस्यको कार्यविभाजन हुन सकेको छैन।
एकता प्रक्रियाले गति नलिँदा कार्यकर्तामा अन्योल र निरासा छाएको छ भने नेताहरुले कार्यकर्तालाई दिने जवाफ आफूहरुसँग नभएको बताउन थालेका छन्। ‘पार्टीको सांगठनिक एकताको कामलाई दुवै अध्यक्षले गम्भीरतापूर्वक लिनु भएको जस्तो लाग्दैन,’ नेकपा स्थायी कमिटी सदस्य गणेश साहले डिसी नेपालसँग भने, ‘अहिले सरकारका काममा नै दुवै अध्यक्ष सक्रिय भउका कारण पार्टी एकताको कामले गति लिन सकेको छैन।’
तीन तहको सरकारमा पार्टीका धेरै व्यक्ति संलग्न भएको र उनीहरु सरकारको काममा नै व्यस्त भएका कारण एकता प्रक्रियाले गति लिन नसकेको उनको भनाइ छ। एकता प्रक्रियाले गति लिन नसक्दा कार्यकर्तामा नैराश्यता र अन्योल बढेपनि कार्यकर्ताले प्रयाप्त दवाब सृजना गर्नुपर्ने स्थायी कमिटी सदस्य साहले बताए।
वरिष्ठ नेता माधव नेपालले आफूखुशी गरे समानान्तर कमिटी बनाउने चेतावनी दिएपनि त्यसलाई दबावका रुपमा कार्यकर्ताले बुझेका छैनन्। ‘दवाब भनेको गुटको निमाण होइन,’ एक नेताले भने, ‘पार्टीको सांगठनिक एकतालाई पूर्णता दिन नेतृत्वलाई कार्यकर्ताले झकझक्याउनुपर्छ। तर त्यसको अर्थ गुटलाई प्रश्रय दिनुपर्छ भन्ने होइन।’
पार्टीलाई गतिशील बनाउने र एकता प्रक्रियालाई पूर्णता दिन दवाब सृजना गर्न प्रचण्डको पनि भूमिका आवश्यक भएपनि त्यस्तो नदेखिएको नेताहरुले बताउने गरेका छन्
कस्तो सम्मको अवस्था छ भने दुई दलबीच एकता घोषणा भएकै दिन गठित ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यहरुले समेत जिम्मेवारी पाउन सकेका छैनन्। अध्यक्षद्वय ओली र प्रचण्डबाहेक न सचिवालयका अरु नेताहरुले भूमिका पाएका छन् न स्थायी समितिका नेताहरुले नै।
प्रधानमन्त्री ओलीले आफू निकटलाई मात्र जिम्मेवारी दिन चाहेका कारण एकता प्रक्रियाले गति लिन नसकेको आरोप लागेपनि त्यसलाई प्रचण्डले पनि सहयोग गरेको आरोप लाग्न थालेको छ।
‘प्रचण्डले पनि त माओवादी केन्द्रलाई एमालेसँग एकता गराएको हो नी’, स्थायी कटिमी सदस्य साहले भने, ‘अहिले उहाँ धेरै जसो त खादा र माला लगाउने कार्यक्रममा मात्रै सहभागी हुन थाल्नु भएको छ। उहाँ दैनिक पार्टी कार्यलयमा गएर दुई चार घण्टा बसेर कार्यकर्ताको कुरा सुन्दा हुँदैन्रु’
पार्टीलाई गतिशील बनाउने र एकता प्रक्रियालाई पूर्णता दिन दवाब सृजना गर्न प्रचण्डको पनि भूमिका आवश्यक भएपनि त्यस्तो नदेखिएको नेताहरुले बताउने गरेका छन्। अहिले पनि स्थायी कमिटीको बैठक बोलाउने हो भने धेरै कुराको समाधान हुने दाबी गर्दै अध्यक्षद्वयकै कारण एकता प्रक्रियाले गति दिन नसकेको उनले जनाए।