नयाँ वर्ष २०७६ शुरु, देश विदेशमा बस्ने नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

In मनोरञ्जन
१ बैशाख २०७६, आईतवार ०८:२४

आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन्।
नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ। पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।
नयाँ वर्षको पूर्वसन्ध्यासँगै नगरकोट, धुलिखेल, गोदावरी, ककनी, फुल्चोकी, पोखरा, सौराहा आदि स्थानमा उल्लासमय वातावरण र युवापुस्ताको भीडभाड प्रशस्तै देख्न सकिन्छ। यस्तो बेला नाम चलेका मन्दिरमा पनि भक्तजनको तुलनात्मक रूपमा बढी नै चहलपहल देखिन्छ ।
विक्रम संवत् कसरी सुरु भयो भन्ने धेरै कथन छन्। नेपालको सरकारी कामकाज विक्रम संवत अनुसार नै गरिन्छ। यस संवतको प्रचलनबारे विद्वानहरूबीच मतभेद पाइन्छ। केही विद्वान्को भनाइ अनुसार यो संवत् भारतका एक प्रतापी राजा विक्रमादित्यले ईस्वी संवत शुरू हुनुभन्दा ५७ वर्षअघि स्थापना गरेका थिए।
अर्को भनाइ अनुसार अंशुवर्माको शासनकालमा विक्रमजीत नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेका र बज्रयोगिनीको उपासना गरी राज्यका जनतालाई अनिकालबाट जोगाएको कथन छ। त्यही बेलादेखि उनले विक्रमादित्य संवत् पनि चलाएको बताइन्छ ।
अर्को भनाइ अनुसार इसापूर्व ५७ वर्ष अगाडि भारतमा कुनै पनि विक्रमादित्य नामको राजा नभएकाले विक्रम संवत नेपालीको आफ्नै मौलिक संवत भएको यसका अध्येताहरूले राख्दै आएका छन्। यस्तै अर्को भनाइ अनुसार विक्रम संवत् कुनै राजा वा व्यक्तिले चलाएको नभई सूर्यको नामबाटै चलेको हो भन्ने गरिन्छ।
राष्ट्रपति भण्डारीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
नव वर्ष २०७६ का अवसरमा दिएको शुभकामना सन्देशमा उनले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्यप्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छिन् । सन्देशमा राष्ट्रपति भण्डारीले भनिन्, “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”

हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दै उनले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भनिन् ।

विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उनले भनेकी छिन्, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।” सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति पुनको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
विक्रम् संवत् २०७५ बिदा भई २०७६ भएका अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले भनेका छन्, “देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको छ । नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।”

नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै जानुपर्नेमा जोड दिएका छन्। नयाँ वर्षले नेपालीकाबीच आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण बन्नुका साथै समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने साझा एजेण्डामा सबैको ध्यान केन्द्रित गर्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन् ।
शेरबहादुर देउवाको शुभकामना
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

नव वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको बताएका छन् ।

उनले नव वर्ष २०७६ ले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबै नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास सभापति देउवाले सन्देशमा व्यक्त गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना

यसै अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, “विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्म समीक्षा गरी मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनैपर्छ ।”