
मलेसियामा आजदेखि सुरु भएको आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज मलेसियाको सेलाङगोर टर्फ क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई २१८ रनले पराजित गरेको हो । यससँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजै ओमनलाई हराएको कुवेत दोस्रो स्थानमा छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको कप्तानी इनिङमा राशिद खान र कमल सिंह ऐरीको तुफानी ब्याटिङ थपिएपछि नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेल शतक बनाउनबाट चुके । उनले ९५ रन बनाए । १०७ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे । राशिद खानले आक्रामक ब्याटिङ गर्दै ४ चौका र २ छक्का प्रहार गरे तर उनी पनि अर्धशतबाट चुके । राशिदले ४६ रन बनाए । कमल सिंह ऐरीले तुफानी ब्याटिङ गर्दै १८ बलमा ३१ रन बनाए । उनले ३ छक्का प्रहार गरे । पवन शर्राफले ४७ र भीम शार्कीले २६ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ ओभर खेल्दै ६५ रनमै अलआउट भयो । सिंगापुरका लागि इशान सावनेले २८ र साइ वेनुगोपालले १८ रन बनाए । तर अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि सिंगापर ६५ रनमै अलआउट भयो । नेपालको लागि पवन सर्राफले ३ विकेट लिए । कुशल मल्ल र सूर्य तामाङले २–२ तथा राशिद खानले १ विकेट लिए ।