
सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ।
मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन्।
सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको उनले उल्लेख गरे।
उनले भने, ‘नेपाली सेना सरकार मातहतको निकाय हो। सरकारले लिने निर्णय प्रति न उसको कहिलेही विमति छ, न रहन्छ। नेपालको लामो इतिहास छ। उसले राजनीतिक नेतृत्व वा सरकारको निर्णयलाई हमेसा फलो गर्दै आएको छ। कहानेर अन्तरविरोध देख्नुभयो। वा अन्तरविरोध चर्काउन कसैले प्रयत्न गर्यो ति कुराहरु सत्य होइन। गतल हो।’
नेपाली सेनाले असहयोग गर्न खोजेको भन्ने सन्दर्भमा सैनिक प्रवक्ताको हवाला दिएपनि कसैले किटानीका साथ नभएको उल्लेख गरे। उनले भने, ‘सैनिक प्रवक्ताको हवाला दिए पनि सैनिक प्रवक्ता को हुन् ? के भने भन्ने कुरा कसैले किटानीका साथ भनेको पनि छैन।’
सेनाले त्यसलाई स्वीकार गरेको पनि छैन। कथाहरु आफै उत्पादन गर्ने। आफ्नै कथा उत्पादन गरेर आफैले विमोचन गरेर त्यसको समालोचना पनि गर्ने प्रवृति हावी भएको र त्यसैको एउटा पछिल्लो नमुना यो विषय हो जस्तो लाग्छ।’
उनले संविधान र कानुनी प्रबन्ध नहेरी जनतामा भ्रम फैलाउने काम नगर्न सचेत गराए। सपनामा हिड्ने बानी परेकाहरुले सेनाको बारेमा जनतामा भ्रम फैलाउने काम भएको टिप्पणी उनले गरे।
उनले भने, ‘सेना परिचालनको विषयमा धेरै बहस, अनावश्यक वहस, कोकोहोलो, उत्पात भयो। तर संविधानको धारा हेरिएन। कानूनी प्रबन्ध हेरिएन। किन भने चिज त अर्कै हल्ला गर्नुछ। त्यसैले दुनियाँलाई दिग्भ्रमति बनाउन बानी परेकाहरुले त्यो कुरा गर्न सक्छन्।’
उनले द्वन्द्वलाई उत्साहित र प्रोत्साहित गर्ने काम नगर्न सबैलाई सचेत गराए। आतंकवादी क्रियाकलाप र चरित्रलाई सरकारले पराजित गर्ने दाबी गरे। हिंसा विश्वभर नै सधै परास्त हुदै आएको उल्लेख गर्दै उनले हिंसाका कारण फेरी मुलुकमा क्षति हुन नदिईने प्रतिवद्धता जनाए।
मुलुकको शान्ति सुरक्षामाथि रमाईलोमा धाबा बोल्ने र अबाञ्छित लेख प्रशारण, प्रकाशन गरि समाज र जनतालाई दिग्भ्रमित पार्ने काम नगर्न उनले सचेत गराए।
संविधान विरोधी क्रियाकलापलाई सरकारले कुनै पनि अवस्थामा स्वीकार्न नसक्ने भन्दै उनले कम्युनिष्ट पार्टीको बदख्वाई गरेर मुलुकमा द्वन्द्व चर्काउने विषय लोकतन्त्र, न्याय र समानतामा आधारित नभई सामाजिक फाँसीवाद हुने टिप्पणी गरे।