खेल हारेपछि डिआरएस र विकेटकिपरलाई दोष…

In खेलकुद
२७ फाल्गुन २०७५, सोमबार १५:५८

अस्ट्रेलिया र भारतबीच जारी पाँच उकदिवसीयको चौथो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ । यससँगै सिरिज २–२ को बराबरी भएको छ । खेलमा हारेपछि भारतीय कप्तान विराट कोहलीले डिआरएसलाई दोष लगाएका छन् । उनले भने ‘एस्टन टर्नरविरुद्ध फैसला आश्चर्यजनक थियो । यो सिस्टममाथि अब हरेक खेलपछि चर्चा हुन लागेको छ । यो सिस्टममा निरन्तरताको कमी छ । यो खेलको लागि निकै महत्वपूर्ण मोड थियो ।’
अस्ट्रेलियाको इनिङको ४४ औं ओभरमा युजवेन्द्र चहलको बलमा विकेटकिपर ऋषभ पन्तले टर्नरविरुद्ध स्टम्पको अपिल गरे । निर्णयको लागि तेस्रो अम्पायरलाई दिइयो । रिभ्यूमा प्रस्ट देखिएको थियो कि टर्नर क्रिजमा थिए । उनी स्टम्प आउट भएनन् । त्यसपछि भारतीय कप्तान कोहलीले बल टर्नरको ब्याटमा लागेको मान्दै विकेटपछाटि क्याचको अपिलसहित रिभ्यू लिए । रिभ्यूमा आवाज आएको देखियो तर यो आवाज बलले ब्याट नाघिसकेपछि आएको थियो ।
बल क्रस भइसकेपछि आवाज आएको हुँदा बल ब्याटमा नलागेको प्रस्ट थियो, अम्पायरले यो बल वाइड दिए । तेस्रो अम्पायरको यही निर्णयमा कोहलीले आपत्ति जनाएका हुन् । टर्नरविरुद्ध जुन समयमा यो अपिल गरिएको थियो त्यतिबेला उनी २९ बलमा ४१ रन बनाएर खेलिरहेका थिए । यसपछि उनले कूल ४३ बलमा नटआउट ८४ रन बनाउँदै अस्ट्रेलियालाई जीत दिलाए । यही प्रदर्शनको लागि टर्नरले म्यान अफ द म्याचको उपाधि जिते ।
कोहलीले विकेटकिपर ऋषभ पन्तको विकेटकिपिङमा पनि दोष देखाए । कोहलीले पन्तले टर्नर र पिटर ह्याण्डसकम्बविरुद्ध स्टम्पिङको मौका गुमाएको उल्लेख गर्दै भने ‘स्टम्पिङका मौका अहम हुन्छन्, हामी मैदानमा सुस्त थियौं ।’ कोहलीले अर्को खेलमा कडा मेहनत गर्नुपर्ने बताए । कोहलीले डिआरएस सिस्टम र अम्पायरको निर्णयमाथि यसरी प्रश्न उठाएपछि आइसीसीले उनीविरुद्ध कारवाही गर्न सक्छ ।