
प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्।
शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको हो।
‘हामीले तस्करी हुन लागेको सूचना प्राप्त गरेपछि टोली खटाएका थियौँ’, रुपन्देहीका एसपी हृदय थापाले भने, ‘मोटरसाइकल आएका दुई व्यक्तिले एकाएक प्रहरी उपर फायरिङ्ग गरेपछि जवाफी कारवाहीमा साहानी मारिएका हुन्।’
मोटरसाइकलमा सवार रहेका दुई जनामध्ये एक जना फरार भएको उनको भनाइ छ। उनीहरु सवार युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको उनले बताए।
मारिएका साहानी विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध थिए। त्यसपश्चात उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भुमिगत समूह) प्रवेश गरी चन्दा आतंकमा सक्रिय थिए।