काठमाडौं : ०६४ सालको पहिलो संविधानसभा निर्वाचनपूर्व काठमाडौंको लालकिल्लाका रूपमा चिनिएको क्षेत्र नम्बर ९ मा कांग्रेस जितमा ह्याट्रिक गर्ने दाउमा छ भने वाम गठबन्धन लालकिल्लाको साख फर्काउने प्रयासमा छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित यही क्षेत्रबाट निर्वाचित भएका थिए । रञ्जितसँग दुवै पटक पराजित एमालेका कृष्णगोपाल श्रेष्ठ वाम गठबन्धनको साझा उम्मेदवार भएकाले यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
०६४ सालअघि तीन वटै निर्वाचनमा यसक्षेत्रबाट एमाले नेतृ साहना प्रधान र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका थिए । वाम गठबन्धन बनेपछि यस क्षेत्रमा वाम साख फर्किनेमा एमाले नेता श्रेष्ठ विश्वस्त देखिएका छन् । यद्यपि, पछिल्लो दुई निर्वाचनयता धाप मार्दै आएको कांग्रेस नेता रञ्जितको हौसला पनि कम छैन । शनिबारदेखि घरदैलो अभियान सुरु गरेका रञ्जित भन्छन्, ‘जितमा ह्याट्रिक निश्चितजस्तै छ ।’ शनिबारदेखि नै टोलभेलामा पुग्न थालेका वाम गठबन्धनका प्रदेशसभा उम्मेदवार केशव पौडेल वाम गठबन्धनका कारण यसपटक कांग्रेसको जित असम्भव भएको दाबी गर्छन् ।
काठमाडौंको कलंकीसहित १२, २१ र २२ वडा तथा नागार्जुन र चन्द्रागिरि नगरपालिकाको १० वटा वडा रहेको क्षेत्र नम्बर ९ मा कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा निश्चित छ । यसअघि पराजित भए पनि माओवादीको धाप पाएकाले एमाले नेता श्रेष्ठ जित्ने दाउमा छन् । कांग्रेसले प्रदेशसभाका लागि उम्मेदवार बनाएका धर्मराज गौतम वाम गठबन्धनको असर नपर्ने दाबी गर्छन् ।
‘स्थानीय तहको निर्वाचन परिणाममा माओवादी कतै नदेखिएकाले हामी ढुक्क छौं’, उनले भने । एमालेका श्रेष्ठसहित प्रदेशसभाका उम्मेदवार माओवादीको मत कम्तीमा ४ हजार भएकाले वाम गठबन्धन दरिलो भएको दाबी गर्छन् । पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रञ्जितले माओवादीका उम्मेदवारलाई झिनो मतले जितेका थिए । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उक्त क्षेत्रमा तेस्रो स्थानमा झरेको थियो भने एमाले नेता श्रेष्ठ दोस्रो स्थानमा उक्लिएका थिए । अहिले आफू पहिलो हुने पक्का भएको उनको दाबी छ ।
०६४ सालको संविधानसभा चुनावमा रञ्जितले १२ हजार ५ सय १ मत पाउँदा माओवादीका माइला लामाले १२ हजार २ सय ९२ मत पाएका थिए । यस्तै, एमालेका कृष्णगोपाल श्रेष्ठले १२ हजार १ सय ९४ मत पाएका थिए । दोस्रो संविधानसभा चुनावमा रञ्जितले १४ हजार ४ सय ७६ मत पाउँदा एमालेका कृष्णगोपालले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।
जनप्रशासन क्याम्पसमा प्राध्यापन गरिरहेका यस क्षेत्रमा पर्ने स्युचाटारका स्थानीय दुर्गाप्रसाद गौतम वाम गठबन्धनप्रति त्यति विश्वत छैनन् । स्युचाटारमा शनिबार भेटिएका गौतमको विश्लेषणमा यसपटक पनि कांग्रेसले बाजी मार्ने सम्भावना छ ।