736 views 4 secs 0 comments

कृषिमा ‘हाइड्रोपोनिक’ प्रविधि सफल

In देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:२०

मंसिर १७, २०७४-अहिलेका युवा पुस्ता माटोसँग संघर्ष गर्न चाहंँदैनन् । उनीहरू आर्थिक उपार्जनका नयाँनयाँ माध्यम खोजिरहेका छन् । कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ । यस्तै युवाहरूको भीडमा यहाँका एक युवाले कृषिमा आधुनिक प्रविधि भित्र्याएका छन् ।

०६५ देखि व्यावसायिक कृषिमा जमेका कुश्माका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गरेका छन् । मोदी ५ र कुश्मा ३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा सुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको हो ।

हरिजनले दुईवटा फलामे स्ट्यान्डको सहारामा ३ मिटर लम्बाइ, ३ इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गरेका हुन् । परीक्षणका रूपमा लगाइएको चाइनिज ‘सलाद साग’ ले त्यही जमिनमा लगाएको भन्दा सात गुणा बढी उत्पादन दिएपछि उनी दंग छन् । ‘यो स्ट्यान्डले १ स्क्वायर मिटर जमिन ओगटेको छ,’ उनले भने, ‘ त्यो जमिनमा २५ बिरुवा अट्नेमा यहाँ १३० बिरुवा छन् । जमिनको भन्दा फल धेरै छिटो र राम्रो उत्पादन

भएको छ ।’ बिरुवालाई चाहिने खाद्यतत्त्व पानीमा मिलाएर इलेक्ट्रिक सिस्टमबाट दिँदा बिरुवामा कुनै रोगकीराले आक्रमण गर्ने सम्भावना पनि हुँदैन । बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक हुने हरिजनको दाबी छ ।

एउटा स्ट्यान्डमा परीक्षण सफल भएपछि हरिजनले लगत्तै करिब दुई रोपनी जमिनमा यस्तै स्ट्यान्ड बढाउने सोचमा छन् । सात तल्लाको स्ट्यान्डको दुइतर्फ नै तरकारी रोप्न सकिने भएकाले सामान्यभन्दा सात गुणा बढी उत्पादन लिन सकिन्छ । थोरै जमिन हुने र बजारमा करेसाबारी नहुनेहरूका लागि यो प्रविधिको तरकारी उत्पादन प्रभावकारी हुने कृषि प्राविधिकहरू बताउँछन् । ‘सम्पन्न मुलुकहरूमा यो प्रविधि धेरै पहिलादेखि व्यावसायिक बनेको छ,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘हामीकहाँ भर्खर परीक्षण हुँदै छ । करेसाबारी नहुनेले छतमा लगाएर तरकारी किन्ने पैसा बचत गर्न यो प्रविधिको खेती उत्तम हुन्छ ।’

करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ ३–३ वटा पीभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिंध चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्त्व मिश्रित पानी पाइपमार्फत बिरुवाको फेदसम्म पुर्‍याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ । दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने सिस्टम बनाइएको हुन्छ । यही चक्रिय प्रणालीका कारण पाइपभित्र लगाइएको तरकारी वृद्धि हुन्छ । सोलारले तातेको पानी सिंचाइ हुने हुँदा बिरुवा छोटो समयमा वृद्धि हुन्छ । माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा फल्ने हरिजनले दाबी गरे । एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने बताइएको छ । १५ देखि २० हजारको लगानीमा तयार हुने यो प्रविधि एकपटक बनाइसकेपछि ३० वर्षसम्म काम लाग्छ ।

http://kantipur.ekantipur.com/news/2017-12-03/20171203073539.html