‘बोतल प्रहारमा आर्सनल जिम्मेवार’

In खेलकुद
६ पुष २०७५, शुक्रबार ११:३५

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले इमिरेट्स रंगशालामा सम्पन्न खेलदौरान डिले अलीमाथि समर्थकले बोतल प्रहार गरेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आर्सनललाई लिन आग्रह गरेका छन्।

बुधबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा टोटेनह्यामले आर्सनललाई २–० ले पराजित गरेको थियो । दक्षिण कोरियाली स्ट्राइकर सन ह्युङ–मिनले गरेको गोलमा अग्रता लिएको टोटेनह्यामका लागि अलीले अग्रता दोब्बर पार्दै अघिल्लो चरणमा स्थान पक्का गरेका थिए । टोटेनह्यामले २०१० पछि आर्सनललाई उसैको घरेलु मैदान इमिरेट्स रंगशालामा १०औं भेटमा पहिलो पटक निराश पारेको हो।

७३औं मिनेटमा इङ्ल्यान्डका मिडफिल्डर अलीलाई समर्थकको भीडबाट प्लास्टिकको बोतल प्रहार भएको थियो । जुन उनको टाउकोमा लागेको थियो । ‘त्यो जे थियो त्यही हो । समर्थकको आक्रोशले मेरो गोल र हाम्रो जितलाई थप उत्कृष्ट बनाइदियो,’ अलीले भने।

तर पोचेटिनोले विपक्षी खेलाडीमाथि भएको बोतल प्रहारको आर्सनलले छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

‘हो मैले देखें । जब हामी डर्बीमा प्रतिस्पर्धा गरिरहेका हुन्छाैं । हामी एकअर्कालाई राम्रो रूपमा लिँदैनाैं तर आज जे भयो त्यो गलत हो,’ पोचेटिनोले भने, ‘विपक्षी खेलाडीको रक्षा गर्नु घरेलु टोलीको जिम्मेवारी हो । कुनै एक मुर्ख मान्छेले गल्ती गर्छ । यस्तो व्यवहारले समग्र घरेलु समर्थकलाई लज्जित तुल्याउँछ । आशा छ, आर्सनलले यस विषयमा छिट्टै केही कदम चाल्नेछ।’

‘रंगशालामा भएका क्यामराको माध्यमबाट दोषी पत्ता लगाउन सकिन्छ । उक्त प्रहारबाट खेलाडीलाई कुनै समस्या भएन, तर पनि यो गम्भीर विषय हो,’ उनीहरूले थपे । आर्सनलका प्रशिक्षक युनेई इमिरेले यो घटना गम्भीर भएको भन्दै यसको छानबिन हुने र दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए।

२०आैं मिनेटमा सनले गोल गर्दै टोटेनह्यामको खाता खोलेका थिए । ५९औं मिनेटमा अलीले गरेको गोल टोटेनह्यामलाई सेमिफाइनल प्रवेश गराउन पर्याप्त बन्यो । पोचेटिनोको ४ वर्षे प्रशिक्षणमा टोटेनह्यामले अहिलेसम्म कुनै प्रमुख प्रतियोगिता जित्न सकेको छैन । टोटेनह्यामले पछिल्लो पटक २००८ मा चेल्सीलाई पराजित गर्दै लिग कपको उपाधि जितेपछि कुनै पनि प्रतियोगिता जितेको छैन।

बुधबारै भएको अर्को खेलमा चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा बर्नामाउथलाई १–० ले निराश पार्दै टोटेनह्यामसँगको सेमिफाइनल भेट पक्का गरेको छ । खेल सकिन ६ मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका इडेन हाजार्डले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो । त्यस्तै अर्को सेमिफायनलमा म्यानचेस्टर सिटीले तेस्रो श्रेणीको ब्रुटोनको सामना गर्नेछ।