763 views 0 secs 0 comments

राप्ती नदी किनारलाई सिसामुक्त बनाउने अभियान सुरु

In समाज
१ पुष २०७५, आईतवार ११:५४

चितवन । पर्यटकीय गन्तव्यको रुपमा रहेको राप्ती नदी किनारलाई सिसामुक्त बनाउने अभियान सुरु भएको छ । मकवानपुरको हेटौँडाबाट बग्दै चितवन आउने राप्ती नदी किनारमा सिसा तथा प्लाष्टिकजन्य फोहोरका कारणका पर्यावरणमा असर परेको भन्दै अभियान सुरु गरिएको हो ।

गत मंसिर १ गतेदेखि सुरु गरिएको अभियानलाई शनिबार पनि निरन्तरता दिइएको छ । शनिबार बेलशहर सामुदायिक वनबाट सुरु भएको सरसफाई अभियान राप्ती नदीको किनार हुँदै छितामाई क्षेत्रमा सरसफाई गरिएको राप्ती तटीय क्षेत्र सरसफाई अभियानका अभियान्ता अपील घिमिरेले बताए ।

केही समय अगाडि पश्चिम चितवनको राप्ती नदी किनारमा फालिएको सिसाले गैँडाको खुट्टा काटेर गैंडा घाइते भएपनि अभियान सुरु गरिएको घिमिरेले बताए ।

पूर्वी चितवनको लोथरदेखि सौराहा हुँदै पटिहानी, जगतपुर, मेघौली, गोलाघाटसम्म सरसफाई गरिने घिमिरेको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको बटुक दल गण, पटिहानी उपभोक्ता समिति, बेलशहर सामुदायिक वन, विभिन्न टोल विकास संस्था, विद्यालय तथा अन्य संघसंस्थाको प्रयासमा नदी किनार सरसफाई अभियान सुरु गरिएको हो ।

नदी किनारमा फालिने सिसिले वन्यजन्तुको खुट्टा काट्ने तथा प्लाष्टिकहरुलाई जनावरले खाइदिँदा उनीहरुको स्वास्थ्यमा असर पर्ने गरेको पाइएपछि अभियानको सुरुआत गरिएको घिमिरेले बताए ।

राप्ती नदी तटीय क्षेत्रलाई सिसि तथा प्लाष्टिक मुक्त बनाउने अभियानमा हरेक व्यक्ति लाग्नुपर्ने पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकरराज महतोले बताए । ‘हामीले भन्दा पनि मैले प्लाष्टिकजन्य तथा सिसिजन्य फोहोर गर्दिन भनेर प्रतिवद्ध भएर लाग्नुपर्छ’ महतोले भने, –‘व्यक्तिले आफूबाट सुरु गरेको अभियान सफल हुन्छ ।’ नदी किनारमा फालिने फोहोरका कारण दुर्लभ वन्यजन्तु गैंडालाई मात्रै नभएर जलचर प्राणीहरु गोही तथा माछालाई समेत असर पर्ने गरेको महतोले बताए ।

नदीमा फोहोर फालिदा घडियाल गोही समेत शंकटापन्न अवस्थामा पुगेको महतोको भनाइ छ । राप्ती तटीय क्षेत्र सरसफाई अभियानमा भरतपुर महानगरपालिका सहित रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाको समेत सहयोग रहेको महतोले बताए । तेस्रो हप्तामा सञ्चालन भएको अभियानलाई हरेक हप्ता निरन्तरता दिइने महतोको भनाइ छ ।