
लाहोर। पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो सफलता हात पारेको छ । पाकिस्तानले लामो समयको अन्तरालपछि आफ्नो जमिनमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने अवसर पाएको छ । २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि आतंकवादी आक्रमण भएपछि आइसीसीले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न प्रतिबन्ध लगाएको थियो । अहिले त्यो प्रतिबन्ध हटाइए पनि विदेशी टिम पाकिस्तान गएर खेल्न हिच्किचाइरहेका छन् ।
अहिले भने पाकिस्तानले २०२० को एशिया कप नै आफ्नो जमिनमा गर्ने अनुमति पाएको छ । एशिया कपको आयोजक पाकिस्तान नै हुने भए पनि खेल भने पाकिस्तानमा नहुन पनि सक्छ । भारत र पाकिस्तानको सम्बन्ध सुधार नभए भारत पाकिस्तानमा खेल्न जाने छैन र एशिया कप पाकिस्तानमा हुने छैन । यस्तो अवस्थामा खेल युएइमा आयोजना हुने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।
एशिया कप २०२० को सेप्टेम्बरमा टि–२० स्वरुपमा खेलिनेछ । यो अस्ट्रेलियामा हुने टि–२० विश्वकपभन्दा पहिले खेलिनेछ । भारत–पाकिस्तान सम्बन्ध सुधार भएमा यो खेल पाकिस्तानमै हुनेछ । यस वर्षको एशिया कप भारतले आयोजना गरेको भए पनि पाकिस्तानी खेलाडी भारत आउन नमानेपछि युएइमा खेलिएको थियो ।