761 views 0 secs 0 comments

भारतमै यसरी बेचिन्छन् नेपाली श्रमिक

In देश
२० मंसिर २०७५, बिहीबार १२:२१

काठमाडौं। वैदेशिक रोजगारका लागि खुल्ला सिमाना भएको छिमेकी मुलुक भारत जान समेत श्रम स्वीकृति लिनुपर्छ भन्दै सोझा श्रमिकलाई म्यानपावरले ठग्न थालेको खुलेको छ। खगोल ओभर्सिस् प्रालिको बुटवल शाखाले विजय भट्टराई र गोपाल केभटलाई भारतको राम्रो कम्पनीमा काम लगाइ दिने र मासिक १८ हजार भारतीय रुपैयाँ तलव हुने प्रलोभन देखाएर त्यसकालागि ६० हजार रुपैयाँ लाग्छ भन्दै ठगी गरेको खुलेको हो।
खगोल ओभर्सिस्का सञ्चालक लक्षमण पन्थीले भट्टराई र केभटलाई भारतको राम्रो कम्पनीमा काम गर्न ६० हजार लाग्छ भनेपछि विजय भट्टराईले ५० हजार रुपैयाँ बुझाएको र गोपाल केभटले ५५ हजार रुपैयाँ म्यानपावरका एजेन्ट श्रीकृष्ण गाहा मगरलाई बुझाएका थिए। उनीहरुका आफन्त हरिराम धवलका अनुसार भट्टराई र केभटलाई भारतको काममा पठाउने कुनै सुरसार नगरेपछि उनीहरुले भारत जानका लागि बुझाएको रकम मागेका थिए।
हरिराम धवल भन्छन्, ‘म्यानपावरलाई बुझाएको पैसा मध्ये १२÷ १२ हजार कटाएर बाँकी मात्र फिर्ता दियो।’ धवलका अनुसार म्यानपावरले सोझा नेपाली श्रमिकलाई ठगी गर्ने नयाँ धन्दा सुरु गरेको छ। धेरै सोझा नेपालीलाई भारतको राम्रो कम्पनीमा काम लगाइदिन्छु भनेर पैसा लिने र काममा नपठाउने अनि श्रम स्वीकृति, स्वास्थ्य परीक्षण लगायतका विभिन्न बहानामा १० देखि १२ हजार सम्म असुल्दै आएका छन्।
धवल वैदेशिक रोजगार विभाग बुद्धनगरमा म्यानपावर विरुद्ध ठगीको उजुरी गर्न आएका थिए। विभागले वैदेशिक रोजगारका नाममा ठगी धन्दा गर्ने म्यानपावर कम्पनीलाई उसले ठगेको प्रमाणका आधारमा कारबाही वा रोक्का समेत गर्दै आएको छ। तर विना प्रमाण भने विभागले कारबाही प्रकृया अगाडि बढाउन सक्दैन।
‘नेपालबाट भारतका जुनसुकै कम्पनीमा काम गर्न जानका लागि श्रमिकले शुल्क तिर्नु पर्दैन। र भारत जान श्रमिकले श्रम स्वीकृति लिन आवश्यक पर्दैन,’ वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँई भन्छन्।’

भट्टराई र केभटले रकम म्यानपावर कम्पनीलाई बुझाएको प्रमाण नभइकन विभागबाट कारबाही गर्न नसक्ने निर्देशक गुरागार्इँले बताए। भट्टराई र केभटले पैसा हाताहाति नै बुझाएका थिए। उनीहरुसँग पैसा बुझाएको कुनै प्रमाण नहुँदा उनीहरुको उजुरी विभागमा दर्ता हुन सकेन।
पीडितका आफन्त हरिराम धवलका अनुसार म्यानपावरले अरु सोझा नेपाली युवाहरुलाई पनि यसरी नै ठग्ने गरेका छन्। काम लगाइदिने नाममा ठूलो रकम लिने र काम नलगाइदिएपछि १० हजारभन्दा बढीसम्म रकम विभिन्न शीर्षकको खर्च देखाएर असुल्ने बाँकी रकम फिर्ता दिने गरेकाले पीडितहरु थोरै रकमका लागि उजुरी गर्दैनन् र म्यानपावरहरुको ठगीधन्दा झन् बढ्दै गएको पाइएको छ।