
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसका सदस्य देशहरूलाई साफ महिला च्याम्पियनसिप नेपालमा हुने भन्दै नयाँ मितिसहित सहभागिताका लागि आवेदन पठाएपछि महिला साफ यहाँ हुने निश्चित भएको हो । यसअघि साफ महिला च्याम्पियनसिप डिसेम्बर, २०१८ मा श्रीलंकामा हुने निर्णय भएको थियो । तर, श्रीलंकाले उक्त मितिमा आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालका निम्ति आयोजना गर्ने बाटो खुलेको थियो ।
नेपालले प्रस्ताव गरेपछि फेरि श्रीलंकाले जनवरी, २०१९ मा च्याम्पियनसिप सञ्चालन गर्न सकिने भन्दै ठूलो रकम साफलाई मागेको थियो । तर, उसले प्रस्ताव गरेभन्दा कम खर्चमै च्याम्पियनसिप आयोजना गर्न सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले दाबी गरेको थियो ।
साफ यू–१५ च्याम्पियनसिपको बेला अघिल्लो साता साफका महासचिव नेपाल आएका थिए र उनले साफ महिला च्याम्पियनसिपको लागि एन्फा कम्प्लेक्स, हल्चोक मैदान र विराटनगरस्थित सहिद रंगशालाको अवलोकन गरेका थिए । एन्फाले राजधानीबाहिर आयोजना गर्ने प्रस्ताव गरे पनि साफका सदस्यहरूले सुरक्षाको कारण देखाउँदै काठमाडौंमा च्याम्पियनसिप आयोजना गर्न अनुरोध गरेका छन् ।