647 views 0 secs 0 comments

डाक्टर र प्रहरी अधिकारी सहित ४ को मृत्यु : अमेरिकाको अस्पतालमा गोली प्रहार

In विश्व
५ मंसिर २०७५, बुधबार १२:३२

सिकागो — अमेरिकाको सिकागोस्थित एक अस्पतालमा मंगलबार भएको गोलीकाण्डमा ४ जनाको ज्यान गएको छ ।प्रहरीका अनुसार मारिनेमा डाक्टर, प्रहरी अधिकारी, अस्पतालका कर्मचारी छन्।
गोली हानाहानका क्रममा बन्दुकधारीको समेत मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। बन्दुकधारी आफैले आफ्नो ज्यान लिए वा प्रहरीको गोलीले मारिए भन्ने प्रस्ट नभएको अधिकारीले जनाए। बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको भनिएकी महिला डाक्टर तमारा ओ–निललाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ। बन्दुकधारीले केही समय डाक्टरसँग विवाद गरेका थिए। यद्यपि उनले गोली चलाउनुको कारण प्रष्ट हुन नसकेको प्रहरीको भनाई छ।

बन्दुकधारीले डाक्टरलाई प्रहार गरेलगत्तै अन्य मानिसहरुतर्फ गोली हानेका थिए। अर्का एक प्रहरी अधिकारीलाई ताकेर चलाइएको गोली उनको बन्दुकको होल्स्टरमा अडिएपछि उनी घाइते भएका छन्। स्थानीय समय अनुसार सिकागोको मर्सी अस्पतालमा दिउँसो ३ बजे गोली प्रहार भएको हो।

सिकागोका मेयर राहम इमानुएलले आक्रमणका कारण ‘शहरको आत्मामा आँशु बहेको’ प्रतिक्रिया दिए। उनले भने, ‘यो दुष्टको अनुहार र त्यसको परिणाम हो।’ सिकागो प्रहरीका प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौं राउण्ड गोली चलाइएको थियो।

सिकागो प्रहरीका सुपरिटेन्डेन्ट एडी जोन्सनकाका अनुसार ‘डाक्टरसँग विवाद भएपछि उनका साथीले सम्झाउन खोज्दा बन्दुकधारीले बन्दुक निकालेर प्रहार गरेका’ थिए।

एक प्रत्यक्षदर्शी जेम्स ग्रेका अनुसार ‘डाक्टर ओ–निल गोली लागेर ढलेपछि पनि बन्दुकधारीले ३ पटकसम्म प्रहार गरेका’ थिए। उनले प्रहरी आएपछि उनी अस्पतालमा भागेर अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। त्यसक्रममा प्रहरी अधिकारी स्यामुयल जिमेन्ज मारिएका हुन्।

ओ–निल मर्सी अस्पतालको इमरजेन्सी विभागकी फिजिसियन थिइन्। अस्पतालको इमर्जेन्सी विभागका निर्देशक डाक्टर प्याट्रिक कोनरले उनी ‘कामप्रति निकै लगनशील डाक्टर भएको’ बताए।

स्थानीय सञ्चारमाध्यमहका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिदै गर्दा बिरामीले गोली चलेको आवाज सुनेका थिए। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताल खाली गराइएको थियो। अस्पतालले केही समयपछि दर्जनौं बिरामी र अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको जनाएको थियो।

अमेरिकामा यसवर्ष बन्दुक आक्रमणका कारण कम्तीमा १३ हजार मासिनहरुले ज्यान गुमाइसकेका छन्। प्रहरीका अनुसार कम्तीमा २५ हजार मानिसहरु घाइते छन् भने २ सय ५० प्रहरी मारिएका छन्।