असन्तुष्टभित्र पनि असन्तुष्टि,कांग्रेस

In राजनीति
२० कार्तिक २०७५, मंगलवार १०:३०

काठमाडौं – सभापति शेरबहादुर देउवा इतर रहेका नेपाली कांग्रेसका असन्तुष्ट पक्षभित्र एकअर्काको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको छ। सार्वजनिक समारोहमा सभापतिको आलोचनामा समय खर्चने नेताहरू पार्टीको आधिकारी फोरमहरूमा अनुपस्थित रहने गरेको भन्दै असन्तुष्टभित्रैबाट एकअर्काको आलोचना हुन थालेको छ।

गुट–उपगुट र समूहमा विभाजित नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइरालासहितका नेताहरू निर्वाचनपछि देउवाविरुद्ध मोर्चाबन्दीमा छन्। निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिँदै सभापतिविरुद्ध दबाब खडा गर्न एक ठाउँमा उभिएका नेताहरू पार्टीको आशन्न महाधिवेशन महाधिवेशनलाई लिएर भने विभाजित देखिएका छन्।

पार्टी पदाधिकारी मनोनयन, नेपाल विद्यार्थी संघको उमेर हद तोक्ने बैठकमा नेताहरुको भूमिकालाई लिएर उनीहरूभित्र असन्तुष्टि बढेको हो। त्यसका साथै निर्वाचनलगत्तै असन्तुष्ट समूहको मागअनुसार विघटन गरीएको संसदीय, कार्यसम्पाद समिति गठनका विषयमा पनि उनीहरूभित्रै मतभेद सुरु भएको छ। विघटित समिति गठन हुँदा असन्तुष्ट पक्षका सबै नेता समितिमा नसमेटिने भएपछि उक्त समिति विघटनको पक्ष र विपक्षमा नेताहरू देखिएका छन्।

पार्टीको १४ औं महाधिवेशनमा असन्तुष्ट पक्षकै नेताहरू सभापतिसँग मिलेर आआफ्नो स्थान सुरक्षीत गर्न लागि परेको आरोप पनि लगाउन थालेका छन्। असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका पौडेल सभापति देउवाविरुद्ध प्रभावकारीरूपमा प्रस्तुत हुन नसकेको आरोप पूर्वमहामन्त्री सिंह, सिटौलासहितकाले लगाउँदै आएका छन्। पदाधिकारी मनोनयन, निर्वाचनमा पार्टी पराजय, नेपाल विद्यार्थी संघको विधानसहितका विषयमा पौडेलले स्पष्ट अडान राख्न नसकेको आरोप पनि निकटहरूले लगाउँदै आएका छन्।

पुत्र चिन्तनका कारण नेता पौडेल अफ्ठेरोमा परेको सुनाउँदै एक नेताले नेपाल विद्यर्थाी संघको १०औं महाधिवेशनमा सहमहामन्त्रीमा बाघी उम्मेदवारी दिएका सुशील तिमलसिनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए। ‘अध्यक्षले मनोनित गर्ने पदाधिकारी र सदस्यको संख्यालाई विवाद चलिरहेका बेला चिन्तनले अध्यक्ष नैनसिंह महरसँग सहमति गरेछन्,’ पौडेल निकट एक नेताले भने, ‘उहाँलाई बेलाबेलामा छोराले पनि अफ्ठेरो पारिरहेको छ।’

त्यस्तै, नेता पौडेल आफैं महामन्त्री शशांक, नेता सिटौलासहितका नेताप्रति शशंकित छन्। १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्ने योजनामा रहेका पौडेल शशांकसहितका नेताहरूले सहयोग गर्नेमा शशंकित छन्। पौडेललाई सभापतिमा अस्वीकार गर्दै १३औं महाधिवेशनमा सभापतिको प्रत्का सिटौलाप्रति गुटगत भेलामा निरन्तर तितो पोख्दै आएका छन्। ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा क्वाइँ’ भन्ने उखान हाल्न नछाडेका उनले सिटौलाको भूमिका र सहभागितालाई आशंका गरिरहेका छन्।

सभापति देउवासँग मिलेर नेपाल विद्यार्थी संघ, महिला संघ, नेपाल तरुण दलमा आफ्नो उपस्थितिलाई सिटौलाले बाक्लो बनाएको सुनाउँदै एक नेताले भने, ‘केन्द्रीय सदस्य र मन्त्रीको भाग पाउँदासम्म उहाँ (सिटौला) सभापतिसँगै रहनुभयो । अहिले केही नपाएपछि यता आउनु भएको हो।’

१४औं महाधिवेशनपछि पार्टीमा आफ्नो स्थान खोजीमा सिटौला रहेको सुनाउँदै,‘पौडेल निकट स्रोतले भन्यो, ‘भोलि पनि देउवासँग मिल्न जाँदैनन् भन्ने छैन ।’ संसदीय दलको निर्वाचनमा महामन्त्री शशांक पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रस्ताव वा समर्थक नबसेपछि असन्तुष्ट पक्षका नेताहरू सबै रुष्ट छन्। कोइराला र गगन कुमार थापा प्रस्तावक समर्थक नबसेपछि सिंहले अन्तिम समयमा कोषाध्यक्ष सीतादेवी यादव र नेता सञ्जय गौतमलाई प्रस्तावक समर्थक राखेर दलको नेतामा उम्मेदवारी दिएका थिए।

गुठगत बैठकमा पनि निकै कम उपस्थिति हुने महामन्त्री शशांकले पदाधिकारी मनोनयन, नेपाल विद्यार्थी संघको उमेर हद तोक्ने सभापतिको प्रस्तावलाई समर्थन गरेकोप्रति असन्तुष्टि चुलएको छ। सभापति देउवासँग मिलेर पार्टी नेतृत्वमा पुग्ने शशांक राणनीति रहेको अन्य नेताहरूले आरोप लगाउँदै आएका छन्।

पूर्व महामन्त्री सिटौला र नेता अर्जुननरसिंह केसीले महामन्त्री शशांक देउवा समूहमा प्रवेश गरिसकेको आरोप लगाउँदै आएका छन्। त्यस्तै बुझाइमा रहेका सिंह महामन्त्री शशांकले बोलाउने भेटघाट र छलफलमा पातलो उपस्थित हुन थालेको निकट स्रोतको दाबी छ । संसदीय दलका नेतामा देउवाविरुद्ध आपूmले प्रतिस्पर्धा गरेकाले आशन्न महाधिवेशन असन्तुष्ट समूहबाट सभापतिको प्रत्यासी आपूmलाई बनाउनुपर्ने निकटहरूसँग बताउने गरेका छन्।

१३औं महाधिवेशनमै देउवा र शशांक मिलेर सभापति र महामन्त्रीमा आएको बताउँदै नेता केसीले पौडेल र आफू सभापति र महामन्त्री उठ्नुपर्ने तर्कसहित कोइराला परिवारले धोका दिएको बताउँदै आएका छन्। आगामी महाधिवेशनमा पनि पौडेललाई कोइराला परिवारबाट सहयोग नपाउने केसीको तर्क छ।

तर, महामन्त्री कोइरालाले भने पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिको प्रत्यासी बन्ने आफैं भएको निकटहरूसँग बताउने गरेका छन्। पदीय जिम्मेवारीकै कारण सभापतिविरुद्ध आफु बोल्न नमिलेको शशांकले स्पस्टीकरण दिने गरेका छन्। नेता पौडेलले दलको निर्वाचन अघि पार्टी सभापतिविरुद्ध लगाएको आरोपले पनि सहमतिको वातावरण बिग्रेको शशांकको बुझाइ छ।

सभापतिविरुद्ध नेता रामशरण महत सार्वजनिक समारोहमा खनिए पनि पार्टीको आधिकारी फोरममा भने विपक्षमा नदेखिएको नेताहरूको गुनासो छ। ‘सभापति बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पारित गराउने तयारी गरी रहेका बेला रामशरणजी नुवाकोटको सामान्य कार्यक्रममा सहभागी हुन जानुभयो,’ एक नेताले भने, ‘सभापतिविरुद्ध पार्टीको कुनै बैठकमा उहाँको हस्ताक्षर छैन।’

अर्का नेता शेखर कोइराला पदाधिकारी मनोनयनको प्रस्ताव पारित गर्ने दिन मन्दिर जाने निहुँ बनाएर घरमै बसेको नेताहरूके दाबी छ। ‘प्रकाशमान सिंहको नेतृत्वमा पदाधिकारी मनोनयन प्रस्तावको विपक्षमा उभिने सहमति थियो,’ असन्तुष्ट पक्षका एक नेताले भने, ‘शेखरजी मन्दीर जाने भनेर घरमै नेवि संघका नेताहरू भेटर बस्नुभयो। नेवि संघको विधानका विषयमा छलफल गर्न बोलाएको बैठकमा पनि भ्याली बाहिरै बस्नुभयो।’

यसैबीच, असन्तुष्ट समूहले सोमबार पार्टी महासमिति बैठक, नेपाल विद्यार्थी संघको महाधिवेशनसहितका विषयमा छलफल गर्न मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गरेका छन्। संघको विषय टुंगो नलागेसम्म अन्य विषय प्रवेस हुन नदिने असन्तुष्ट पक्षको रणनीति बनाएका छन्।

कांग्रेसमा पदाधिकारी नबढ्ने

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहितका मुख्य विषयमा अझै सहमति जुटाउन सकेको छैन। महामन्त्री पूर्ण बहादुर खड्का नेतृत्व समितिले विधानको अन्तिम मस्यौदा तयार गर्ने गृहकार्यलाई तीव्र बनाए पनि सोमबार साँझसम्म मुख्य विषयमा सहमति जुटाउन नसकेको हो।

१ सय २५ सदस्यीय केन्द्रीय समिति हुनेगरी समितिले प्रस्ताव तयार गरेको छ। संविधानको व्यवस्थाअनुसार समानुपातिक समावेशी सिद्धान्तअनुसार हाल छलफलमा रहेको कम्तीमा ६० र ४० को सहभागिता कायम गर्ने कि त्यसलाई ५५ र ४५ बनाउने भन्ने विषय अझै टुंगो लाग्न बाँकी छ। ‘जनजातिभित्रको पनि सबै जातलाई कसरी समेट्ने भन्ने मुख्य चुनौति देखिएको छ,’ समिति एक सदस्यले भने, ‘त्यसलाई सम्बोधन गरेर मंगलबारसम्म अन्तिम मस्यौदा तयार गर्ने हाम्रो तयारी छ।’ त्यसमा महिलको संख्या एकतिहाइ हुनुपर्ने सुनिश्चितता गरिएको छ।

कांग्रेसले पदाधिकारी संख्या भने नबढाउने भएको छ। अहिले कायम रहेको पदाधिकराी संख्यालाई निरन्तरता दिंदैं कांग्रेसले मस्यौदा तयार गरेको छ। तर, समिति सदस्यहरु नविन्द्रराज जोशसी प्रदिप पौडेल, मानबहादुर विकसहितले पदाधिकारी संख्या बढाउनुपर्ने र सबै निर्वाचन गर्नु पर्ने धारणा राखेका छन्। ‘संख्या नबढाउने गरी मस्यौदा तयार भएको छ,’ एक नेताले भने, ‘केही साथीहरुले संख्या बढाउनु पर्ने प्रस्ताव गर्नु भएकाले मंगलबार बिहान छलफल गरेर टुंगो लगाउँछौ।’

केन्द्र र प्रदेशग २४/२४ जना महाधिवेशन प्रतिनिधि हुने गरी मस्यौदा तयार गरेको समितिले संसदीय समिति, निर्वाचन समिति अनुशासन समिति कसरी छनोट गर्ने भन्ने विषयमा पनि विवाद कायमै छ। पार्टी केन्द्रीय समिति बैठक दिउँसो बस्ने भएपछि मस्यौदा समितिले सहमति जुट्न बाँकी रहेका विषयमा बिहान ९ बजे देखि नै सहमतिका लागि पहल गर्ने छ।